Spread the love

३५ नम्बर बोङ-दुर्पिन समष्टिको बोङ ग्राम पञ्चायत अन्तर्गत गैरी गाउँ स्थित “मिलन परिवार समाज” को निर्माण हुन थाँतीमा रहेको समाज घरको निर्माण कार्य आज देखि पुनः सुरु भएको छ। विगत वर्ष विधानसभा चुनाव हुन अघि नै जीटीएको के.इ.डी विभाग मार्फत उक्त समाजघर निर्माणको निम्ति कुल ३३ लाख रुपैया अनुमोदन भएर निर्माण कार्य सुरु भएको थियो। तर कतिपय कारणवश विशेषगरी कोभिडको लकडाउनको कारणले उक्त निर्माणकार्य रोकिएको थियो। यस बाहेक कतिपय तक्निकीय तथा अन्य समस्याहरूको कारणले काम सुचारु रूपमा हुन सकेको थिएन। यसबारे गाउँवासीले भागोप्रमो ३५ नम्बर समष्टि वर्तमान महासचिव पङ्कज छेत्री सँग गुनासो राख्दै कुराकानी गरेपछि एजेन्सी पक्ष,गाउँवासी तथा भागोप्रमो समष्टि महासचिव पङ्कज छेत्री माझको सरसल्लाह एवम् सहमतिमा आज देखि समाजघर निर्माणकार्य पुनः शुरु भएको छ। लगभग ४० घर परिवार रहेको मिलन परिवार समाजको उक्त बनिन लागेको समाज भवन दुइतल्ले हुने तथा यसमा किचन,शौचालय,हल,स्टोर रूम आदि हुने समष्टि महासचिव पङ्कज छेत्रीले जानकारी गराए।
भवनको शिलान्यास कार्यक्रम विगत वर्ष नै भइसकेको भए तापनि आज पनि समष्टि अध्यक्ष शेखर म्याडोनल,महासचिव पङकज छेत्री, समष्टि युवा शक्तिका उपाध्यक्ष नाम्गे मंगर, मिलन परिवार समाजका अध्यक्ष सुशील गौतम,महासचिव एस.के. राई आदि लगायत गाउँवासीको उपस्थितिमा औपचारिक रूपमा कार्यक्रम तथा पूजापाठ गरि निर्माण कार्य सुरु गरिएको छ।

आजदेखि समाजघर निर्माणकार्य पुन: सुरु भएपछि गाउँवासीहरूले खुशी व्यक्त गर्दै भागोप्रमो पार्टी तथा समष्टि अध्यक्ष एवम् सचिव प्रति कृतज्ञता प्रकट गरेका छन्। यस समाज भवनको निर्माणले सामाजिक कार्यहरू गर्नमा धेरै सहयोग पुग्ने तथा समाजको निम्ति धेरै ठूलो उपलब्धि हुने भन्दै गाउँवासीले हर्ष व्यक्त गरेका छन्।


Spread the love