” त्रिवेणी अस्पताललाई जी टी एले एउटा स्पेशल अस्पतालको रूपमा सञ्चालन गर्नु पर्छ।” अनित थापा

भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाका अध्यक्ष अनित थापाले त्रिवेणी कोविड अस्पतालका कर्मचारीहरुलाई भेट गरे।
भेटघाट समय उनले आफु अस्पताललाई निरन्तरता दिनु पर्छ भन्ने पक्षमा रहेको भन्दै भने, ” जसरी सरकारी आदेश निकालेर यो स्थानलाई अस्पताल बनाइएको थियो, त्यसरी नै सरकारलाई राम्ररी बुझाएर यो अस्पताललाई निरन्तरता दिनु पर्छ।”
न्याय खोजी रहेका कर्मचारीको पक्षमा छु भन्दै उनले भने, “दुःखको समयमा खोलिएको यो कोविड अस्पतालले पहाडको धेरै मानिसलाई सेवा पुर्याएको छ। त्यो सेवा दिलाउनुमा यहाँका कर्मचारीहरुको ठूलो देन रहेको छ। उहाँहरूले दिनु भएको योगदान अनि सेवाको कदर हुनु पर्छ।”
त्रिवेणी अस्पताल हाई वे अनि क्षेत्रको निम्ति नै लाभप्रद छ भन्दै उनले भने, “यो अस्पतालमा दार्जीलिङ अनि कालेबुङ अस्पतालमा नभएको मेडिकल संसाधन जडान गरिएको छ। यो अस्पतालले यहाँ वरिपरिको वासिन्दालाई धेरै फाईदा दिन्छ। यो अस्पताललाई जीटीएले एउटा स्पेशल अस्पतालको रूपमा सञ्चालन गर्नु पर्छ।”
समस्याको समाधान अवश्य निस्कने छ भन्दै उनले भने, “यहाँको कर्मचारीहरुको मुद्दालाई मैले सम्बन्धित एडमिनिस्ट्रेटर संग उठाई सकेको छु। कुनै न कुनै समाधानको बाटो अवश्य निकाल्ने छौ।”
उनले अहिले न्याय खोजी रहेका कर्मचारीहरु संग बसेर विचार विमर्श पनि गरे। न्याय अथवा आफ्नो मांग राख्नु पाउने सबैलाई अधिकार छ तर आक्रोश देखाएर मांग नराख्ने सुझाव पनि दिए।
स्मरण रहोस, त्रिवेणी अस्पताल बन्द हुने सुचना जारी भए पश्चात यहाँका कर्मचारीहरुले आफ्नो नौकरी अन्त्य भएको विषय लिएर हिजो देखि धरना सुरु गरेका छ्न्। कोविडको वैश्विक महामारी समय अनित थापाले जी टी एको अध्यक्ष रहेको समय नै त्रिवेणी अस्पताल सञ्चालन गरेका थिए।